माण्डव्य

चुनाव आयो भन्दछन्, खै कता आयो थाहा छैन
आयो आयो भनेर हल्ला गर्दछन्
बाहिर निस्केर हेर्दा त राजनीति माग्ने पो रहेछन् ।
कोही शङ्ख फुकेर आउँछन्
कोही हल्ला गरेर
आफ्नै घरमा विदेशबाट आए जसरी आउँछन्
आफ्नो उद्देश्य पूरा भएपछि ती माग्ने
कता हो कता हराउँछन् ।
माग्नेलाई केका लागि मागेको भनी सोधेमा
कोही माग्ने बाटो बनाउँछु भन्दछन्
कोही शहर सफा राख्दछु भन्दछन्
कोही सफा पानी खुवाउँछु भन्दछन्
कोही विकास गर्नु भन्दछन् ।
तर ती माग्नेको घरकै अवस्था हेरेमा
कसैको घर हुँदैन
कसैको आफ्नै आँगन सफा हुँदैन
आफ्नै लागि बनाउन नसक्नेले
अरूको लागि बनाउँछु भन्दछन् ।
कोही माग्ने भन्दछन् हामीलाई मत दिएमा
नर्कमा बास दिउँला किनकि
उक्त माग्ने भन्दछन् हामीलाई मत नदिएमा
नर्कमा पनि बास हुँदैन
माग्नेको कुरालाई पत्याइँदिने हाम्रो समाज
माग्नेभन्दा पनि दरिद्र देखिन्छ ।







