विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा इन्द्रदेव यादव प्रमुख जिल्ला अधिकारी आएपछि उहाँको सक्रियता बढेको छ ।
उहाँले मोरङका सञ्चारकर्मी, व्यापारी, सामाजिक एवम् व्यापारिक सङ्घसंस्थाका प्रतिनिधिसँग भेटघाट गर्नुभएको छ । उहाँले नेपाल-भारत दशगजा सीमाको अवलोकन समेत गर्नुभएको छ ।
उहाँको सक्रियताले आउँदा दिनमा पनि निरन्तरता पाउने कुरामा सबै आशावादी छन् । मोरङका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा राजस्व चुहावट समितिको बैठक समेत बसेको थियो ।
उक्त समितिको बैठकमा विराटनगर भन्सार कार्यालयका प्रमुख, नेपाल प्रहरीका मोरङ प्रमुख, सशस्त्र प्रहरी बल नेपालका मोरङ प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रमुखको उपस्थिति रहेको थियो ।
उक्त पहिलो बैठकमा विराटनगर भन्सार कार्यालयका प्रमुखले पौष महिनाको राजस्व असुलीतर्फ सन्तोषजनक उपलब्धि रहेको बताउनुभएको थियो । उक्त बैठकमा सामान्य परिचय र भेटघाट बाहेक कुनै लिखित निर्णय हुन सकेन । राजस्व चुहावट नियन्त्रणमा सुरक्षा निकायका तीन वटै अङ्ग बिच समन्वय हुनुपर्ने र सो अनुसार अगाडि बढ्ने कुरामा सबै सहमत हुनुभएको थियो तर निर्णय कुनै पनि हुन सकेन, अर्को पटक हुने राजस्व चुहावट नियन्त्रण सम्बन्धी बैठकमा निर्णय गरिने कुरामा सहमत हुँदै बैठक सकिएको थियो ।
राजस्व चुहावट नियन्त्रण गर्न सुरक्षा निकायका अङ्ग र विराटनगर भन्सार कार्यालयबाट पनि इमानदारिता देखाउनु जरुरी छ । खुला सिमानाको कारण चोरी पैठारी हुने गरेको कुरालाई निर्मूल पार्न सकिँदैन नियन्त्रण गर्न सकिन्छ ।
पछिल्लो समय चोरी पैठारी गरी ल्याएको सामान नियन्त्रणमा लिने निकायले सामान नियन्त्रणमा लिए पनि नियन्त्रणमा लिएको सामान आवश्यक कारबाहीको लागि नियमनकारी निकायमा बुझाइँदैन । यसरी नियन्त्रणमा लिएको सामान दबाबका प्रभावमा परेर छोडिदिने गरेको कुराहरू बाहिर आएका छन् ।
गलत तरिकाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसमा संलग्न व्यक्तिले खुलेआम रूपमा सामान पक्रेर लगेर केही हुँदैन सामान बेलुका लिन गएपछि छोडिदिन्छन् भनेर भन्न थालेका छन् । यसतर्फ राजस्व चुहावट समितिकै ध्यान जानु जरुरी छ ।
सामान समाउने सम्बन्धित निकायमा नबुझाउने हो भने सामान समाउनुको कुनै अर्थ रहँदैन । यसतर्फ विराटनगर भन्सार कार्यालयले विशेष ध्यान दिनुपर्छ ।
सामान समाउने बित्तिकै सामान समाएको दिन भन्सारले सामान बुझाउने वातावरण बनाउनुपर्छ होइन भने राजस्व चुहावट भयो राजस्व उठेन भनेर कराउनुको कुनै अर्थ रहँदैन ।