
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्वा सुनसरी मातहतको टोलीले चोरी पैठारी नियन्त्रण, सीमा सुरक्षामा मात्र होइन मानवताको उद्दार कार्यमा पनि सक्रिय भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्वा सुनसरी र सो मातहतको युनिटले असोज १ देखि ७ गतेसम्म नेपाल–भारतको नाका क्षेत्रबाट चोरी पैठारी गरी लुकाई ल्याएको ३२ लाख ११ हजार मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिई सेतुबन्ध कोशी ब्यारेज सुनसरी भन्सार कार्यालयमा बुझाएको छ ।
यसरी बुझाएको सामानहरुमा किराना सामान, लत्ता कपडा, सुर्ती एवम् सुर्तीजन्य वस्तु, पेय पदार्थ लगायत रहेको छ ।
यसैगरी सुनसरीको इनरुवा नगरपालिका-४ स्थित हनुमान चोक, महेन्द्र राजमार्गमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा घाइते भएका एक व्यक्तिको सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीबाट खटिएको मोबाइल गस्ती टोलीले तत्काल उद्धार गरेको छ ।
बुधबार राति करिब २०:१५ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र.१–०२–०५२ प ५१९९ नम्बरको मोटरसाइकलले साइकलमा सवार सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-५ निवासी ५० वर्षीय डिके खानलाई ठक्कर दिँदा उनी घाइते भएका थिए ।
घटना लगत्तै सोही क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक गोविन्द कुमार सिंहको 9 जनाको मोबाइल गस्ती टोली घटनास्थलमा पुगेर घाइते खानलाई तत्काल उद्धार गरि आफ्नै सवारी साधन द्धारा उपचारका लागि जिल्ला अस्पताल, इनरुवा पुर्याएको हो।
सशस्त्र प्रहरीको समयमै भएको उद्धार तथा तत्काल अस्पताल सम्म पुर्याउने कार्यले दुर्घटनामा घाइते भएका व्यक्तिलाई आवश्यक उपचार प्राप्त गर्न सहयोग पुगेको छ। दुर्घटनाबारे थप विवरण तथा घटनाको कारण सम्बन्धमा सम्बन्धित निकायबाट आवश्यक अनुसन्धान भइरहेको छ ।








